उदयपुर, कार्तिक १९ । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेस्थित निपानेगाउँमा बिजुली बलेपछि स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन्।
विकट पहाडी क्षेत्रमा अवस्थित सो गाउँमा लक्ष्मीपूजाका दिन पहिलोपटक बिजुली विस्तार भएर गाउँ झलमल्ल भएपछि स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका हुन्।
यसअघि गाउँमा बिजुली नहुँदा दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको स्थानीयवासी धनबहादुर पुलामी मगर जानकारी दिए। उनले भने, “गाउँमा पहिलो पटक बिजुली पुग्दा अन्धकारमुक्त भएका छौँ।”
त्रियुगा नगपालिका र सो वडा कार्यालयको रु ३० लाखभन्दा बढीको लगाानी र स्थानीयवासीको श्रमदानबाट साउनेको निपानेमा पहिलोपटक बिजुली पुर्याउन सफल भइएको वडा नं १४ का अध्यक्ष कुरुङ राईले बताए। दश वर्षदेखि निपानेमा बिजुली पु¥याउने प्रयासपछि बल्ल यसपटकको लक्ष्मीपूजाका दिन बिजुली बल्न सफल भइएको वडाध्यक्ष राईको भनाइ छ।
त्रियुगा नगरपालिकाभरि सबैतिर बिजुली यसअघि नै बलेर झलमल्ल भए पनि आफूहरु लामो समयदेखि गाउँमा टुकी बालेर बस्न बाध्य हुनुपरेको बेलामा बल्ल यसपटक बिजुली बल्दा आफूहरु खुशी भएको मगरले बताए। गाउँमा पहिलोपटक बिजुली बाल्न पाउँदा अहिले आफूहरु साह्रै खुशी भएको र विकास भनेको यस्तो हुन्छ भन्ने कुरा अनुभूति गरेको निपानेका गङ्गा मगरले बताए। लक्ष्मीपूजाका दिनदेखि गाउँमा बिजुली बलेपछि निपानेगाउँका १२० घरपरिवार हर्षित बन्न पुगेको स्थानीयवासी बताउँछन्।
जिल्ला सदरमुकाम गाईघाटबाट २५ किलोमिटर उत्तरी पहाडी क्षेत्रमा अवस्थित जङ्गलभित्रको दुर्गम निपानेगाउँमा यसवर्ष लक्ष्मीपूजाको दिनदेखि बिजुली बल्न सुरु गरेपछि अहिले सो क्षेत्रका बासिन्दामा खुशीयाली छाएको छ। रासस


























