कार्तिक १४ । ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्दैछ।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल र लेबनानबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ। नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ। किनकि दुबै टिम अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन्।
तर, लेबनानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ। नेपाल जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ। लेबनान पनि नेपाललाई हराएर छनोटको सुखद अन्त्य गर्न चाहन्छ।
छनोटको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको थियो।
नेपाल समूहको पुछारमा रहेको छ। नेपालले अंक जोड्न सकेको छैन। लेबनान पनि अंक विहीन रहेको छ। लेबनान तेस्रो स्थानमा रहेको छ। यस समूहमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ। इरान ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
यस समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन्। यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन्।उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।


























