कञ्चनपुर, कार्तिक ११ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिएकाछन्।
आज महेन्द्रनगरस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा उहाँले चुनाव नजिकै आइसकेकाले तयारीमा बस्नुपर्ने बताए। स्थानीय तह, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन आउन लागेको उल्लेख गर्दै उहाँले त्यसका लागि पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए।
अध्यक्ष नेपालले सङ्गठन निर्माण गर्ने र पार्टीको अभियानमा खटिने नेताको मूल्याङ्कन हुने बताउँदै जनताको सेवा गर्नकै लागि पार्टीको गठन भएकाले सबैको साथ हुँदा पार्टीपङ्क्ति बलियो हुने धारणा राखे। राज्यको आधारभूत दायित्व गाँस, बाँस, कपास, स्वास्थ्य र सुरक्षा रहेकाले त्यसको ग्यारण्टी गरिनुपर्ने उनले बताए।
अध्यक्ष नेपालले ओली प्रवृत्तिका विरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउँदै बादशाहलाई घोडाबाट झारेर नयाँ राजनीतिक अवस्था सिर्जना भएको धारणा व्यक्त गरे। पाँच दलको गठबन्धन चुनावसम्म कायम रहने दृढता व्यक्त गर्दै उनले बाढी प्रभावित क्षेत्रमा राहतका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए। रासस


























