वाग्मती, कार्तिक १० । कूल ७६ वटा सामुदायिक विद्यालय रहेको हेटौँडा उपमहानगरपालिकाले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रमका लागि सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेस गर्न सूचना जारी गरेको जनाएको छ। सो उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले विभिन्न मितिमा सूचना प्रकाशित गरी कार्यक्रम आवश्यक भएका सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेस गर्न आग्रह गरेको बताइएको छ। सङ्घीय सरकारको २० लाख बजेट अनुदानबाट स्वीकृत वार्षिक कार्यक्रम सञ्चालन गर्न हेटौँडा उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेस गर्न आग्रह गरिएको महाशाखाका प्रमुख गङ्गाधर रिमालले जानकारी दिए।
माविमा स्मार्ट बोर्ड र प्रोजेक्टमा आधारित सिकाइ, आधारभूत विद्यालयमा कम्तीमा एक कम्प्युटर, एक ल्यापटप र प्रिन्टर, नमूना वाल विकास कार्यक्रमका लागि सामग्री सहयोग, विद्यालयहरुमा युरोगार्ड जडान र गणित विषयको प्रयोगशाला निमार्णका लागि प्रस्ताव माग गरिएको बताइएको छ।
विद्यालयहरुबाट प्राप्त भएका प्रस्तावहरुको मूल्याङ्कन गरेर आवश्यकता र औचित्यका आधारमा विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गरिने प्रमुख रिमालले बताए सो कार्यक्रमका लागि इएमआइएस अपडेट, विद्यार्थी सङ्ख्या र सामाजिक परीक्षण जस्ता विभिन्न आधारमा विद्यालयको मूल्याङ्कन हुने बताइएको छ। यसैबीच हेटौँडा उपमहानगरपालिकाअन्तर्गत रहेका १२२ वटा सामुदायिक तथा संस्थागत विद्यालयमध्ये २९ विद्यालयले तोकिएको समयभित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) नबुझाएको जनाइएको छ।
त्यस्तै ९३ विद्यालयले तोकिएको समयभित्र इएमआइएस बुझाएको उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जनाएको छ। जसअन्तर्गत ६२ सामुदायिक र ३१ निजी विद्यालयले इएमआइएस बुझाएको छ भने १४ सामुदायिक र ३१ निजी विद्यालयले इएमआइएस नबुझाएको बताइएको छ। इएमआइएस नबुझाएको सम्पूर्ण विद्यालयको कार्यक्रम रोकिने महाशाखाप्रमुख रिमालले बताए। समयमै इएमआइएसकै कारण शिक्षकको तलब, आठ कक्षाको परीक्षा रोकिनाका साथै विद्यालयको संरचना तथा पूर्वाधार विकासमा समेत बाधा पुग्ने महाशाखाले जनाएको छ। रासस


























