तनहुँ, कार्तिक ८ । तनहुँका १० पालिकामध्ये दुई पालिका कोरोनामुक्त बनेको छ। जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा कोरोनाको सङ्ख्या शून्य दर रहेको हो। तनहुँमा हाल २८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
व्यासनगरपालिकामा नौ, शुक्लागण्डकी नगरपालिकामा आठ, भिमाद नगरपालिकमा तीन, भानु नगरपालिकमा तीन, ऋषिङ गाउँपालिकामा दुई, घिरिङ र बन्दीपुरमा एक/एकजना कोरोना सङ्क्रमित रहेका छन्। आठ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।
तनहुँमा ८५ हजार ८०० लाई पहिलो खोप र ६४ हजार ९८० ले दोस्रो खोप लगाएका छन्। वैशाखदेखि हालसम्म १२४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। कोरोना सङ्क्रमण घट्दै गए पनि सुरक्षामापदण्ड अपनाएर मात्रै पेशा व्यवसाय र हिँड्डुल गर्न स्वास्थ्य कार्यालयले सर्वसाधारणमा आग्रह गरेको छ। रासस


























