कार्तिक ५। नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले आज शुक्रबार इन्डोनेसियाको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
नेपालले ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा इन्डोनेसियाको सामना गर्नेछ। नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।
एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ।
यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ। छनोट अघि नेपालले अक्टोबर २२ मा इन्डोनेसियाको यू-२३ टोलिसँग मैत्रीपूर्ण खेल खेल्नेछ।
छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन्। यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन्। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।


























