कार्तिक ५ । बंगलादेशले युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा दोस्रो जित निकालेको छ।
ओमान क्रिकेट मैदानमा बिहीबार पपुवा न्यू गिनी (पीएनजी) लाई ८४ रनले पराजित गर्दै बंगलादेशले दोस्रो जित निकालेको हो। बंगलादेशले दिएको १ सय ८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी १९ ओभर ३ बलमा अलआउट हुँदै ९७ रनमा समेटियो। पीएनजीका किप्लिन डोरिगाले सर्वाधिक ४६ रन बनाए। चाड सोपेरले ११ रन जोड्दा कप्तान असाद भाला ६ रनमा आउट भए।
पीएनजीलाई सस्तैमा समेट्न बंगलादेशका शकिब अल हसनले ४ विकेट लिए। मोहमद सैफुदीन र ताक्सिन अहमेदले २र२ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो।
बंगलादेशका लागि कप्तम महमुदउल्लाहले ५० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै शकिब अल हसनले ४६ रन जोड्दा लिटोन दासले २९ रन बनाए।आफिफ होसेन २१ तथा मोहमद सैफुदीनले अविजित १९ रन बनाए।
पीएनजीका डामिन राभु, काबुआ मोरिया र असाद भालाले २/२ विकेट लिए। यस जितसँगै बंगलादेशले सुपर १२ मा स्थान बनाएको छ। पहिलो चरणको ‘बी’ को बंगलादेशले ३ खेलमा ४ अंक जोडेको छ।
बंगलादेश शीर्ष स्थानमा समेत उक्लिएको छ। पीएनजीको यो लगातार तेस्रो हार हो। यस हारसँगै पीएनजी प्रतियोगिताबाट बाहिरिएको छ।


























