कार्तिक ४ । श्रीलंका आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सुपर-१२ मा प्रवेश गरेको छ। आबुधाबीमा बुधबार राति आयरल्याण्डलाई ७० रनले हराएको श्रीलंका लगातार दोस्रो जितसहित सुपर-१२ मा पुगेको हो।
श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटिएपछि श्रीलंकाले सुपर-१२ मा स्थान सुरक्षित गरेको हो।
आयरल्याण्डका लागि कप्तान एन्डी बलब्रिनीले ४१ रन र कर्टिस क्याम्फरले २४ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। आयरल्याण्डलाई सस्तैम समेट्न श्रीलंकाका महेश थिकसानाले ३ विकेट लिँदा लाहिरु कुमारा र चामिका करुनारत्नेले २/२ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो।
श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै अर्धशतकीय इनिङ्स खेलेका पाथुम निशान्काले ६१ रन बनाए । कप्तान डसुन शनकाले अविजित २१ रन बनाए।
आयरल्याण्डका जोस लिट्टलले ४ विकेट लिए। मार्क एडीयरले २ तथा पाउल स्ट्रर्लिङले १ विकेट लिए।
जितसँगै सुपर १२ स्थान पक्का गरेको श्रीलंका २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा छ। आयरल्याण्ड २ खेलमा २ अंकसहित दोस्रो स्थानमा छ। आयरल्याण्डको पनि सुपर १२ मा पुग्ने सम्भावना कायमै छ।


























