कार्तिक ४ । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा नामिबियाले नेदरल्यान्ड्सलाई हराएको छ।
आबुधाबीमा बुधबार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो। योसँगै नामिबियाले पहिलो जित दर्ता गराएको छ। पहिलो खेलमा नामिबिया श्रीलंकासँग ७ विकेटले पराजित भएको थियो।
नेदरल्यान्ड्सले दिएको १ सय ६५ रनको लक्ष्य नामिबियाले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नामिबियाको जितमा डेविड विजले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कप्तान गेर्हार्ड इरास्मसले ३२ रन जोड्दा स्टेफेन बार्डले १९ रन बनाए।
नेदरल्यान्ड्सका फ्रेड क्लासेन, कोलिन,टिम भान डेर र पिटर सिलारले एक एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको नेद्ल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। नेदरल्यान्ड्सका म्याक्स ओ’डोडले ७० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको जित सम्भव भएन। नामिबियाका जान फ्राईलिंकले २ विकेट लिए।
जितसँगै नामिबियाको सुपर-१२ मा पुग्ने सम्भावना कायमै छ।


























