असोज ३१ । युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज आइतबारबाट सुरु हुँदैछ।
विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछ। आइतबार पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन्। ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ। ओमान र पपुवाबीचको खेल पौने ४ बजे सुरु हुनेछ।
यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। बंगलादेश र स्कटल्याण्डबीचको खेल पौने ८ बजे सुरु हुनेछ।
विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन्। जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन्। यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन्।
सुपर-१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ विजेता र समूह ‘ए’ को उपविजेता यस समूहमा रहने छन्।
यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका,वेस्ट इन्डिज रहेका छन्। पहिलो चरणको समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता यस समूहमा रहने छन्।
समूह चरणको खेलपछि आबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ। दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ।


























