असोज २९ । युएईमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनल खेल आज शुक्रबार हुँदैछ।
दुबईमा हुने फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ। चेन्नई र कोलकाता आज उपाधि चुम्ने योजनासहित मैदान उत्रने छन्। त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ।
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई चौंथो पटक आईपीएलको उपाधि जित्ने योजनामा हुनेछ। उत्कृष्ट प्रदर्शन गरिरहेको चेन्नई पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराएर फाइनल पुगेको हो।
इयान मोर्गनको कप्तानीमा रहेको कोलकाता भने तेस्रो पटक आईपीएलको उपाधि जित्ने लक्ष्यमा रहेको छ। कोलकाताले पनि दोस्रो क्वालिफायरमा दिल्लीलाई नै हराएको थियो।
चेन्नई र कोलकाताबीचको पछिल्लो खेलको नतिजा हेर्दा चेन्नई बलियो देखिएको छ। पछिल्लो पाँच भेटमा चेन्नईले ४ जित निकाल्दा एक मात्र जित कोलकाताले निकालेको छ।
यसै वर्षको पछिल्लो दुई भेटमा चेन्नईले बाजी मारेको थियो। लिग चरण अन्तर्गत अप्रिलमा भएको खेलमा चेन्नईले १८ रनको जित निकालेको थियो। यस्तै सेप्टेम्बर २६ मा भएको खेलमा चेन्नईले २ विकेटको जित निकालेको थियो।
कोलकाताविरुद्ध चेन्नई उक्त जितलाई कायम राख्ने योजनामा हुनेछ। कोलकाता भने चेन्नईविरुद्ध फाइनलमा बदला लिन चाहन्छ।


























