असोज २६ । कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ।
सारजाहमा सोमबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो।
अब कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ। यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ। बैंगलोर भने प्रतियोगिताबाट बाहिरिएको छ।
बैंगलोरले दिएको १ सय ३९ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो। कोलकाताको जितमा सुबमन गिलले सर्वाधिक २९ रन जोडे।
यस्तै सुनिल नारिनले २६ रन जोड्दा भेन्कातेस एयरले पनि २६ रन बनाए। नितिस रानाले २३ रन बनाए। दिनेश कार्तिकले १० रन जोड्दा राहुल त्रिपाठी ६ रनमा आउट भए। कप्तान इयान मोर्गनले अविजित ५ रन जोड्दा शकिब अल हसनले अविजित ९ रन बनाए।
बैंगलोरका हर्सल पटेल, मोहमद सिराज र युजभेन्द्र चाहलले २/२ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन जोडेको थियो। बैंगलोरका कप्तान विराट कोहलीले ३९ रन जोडे। देबदुत पडिकलले २१ रन जोड्दा ग्लेन म्याक्सवेलले १५ रन बनाए। साहबाज अहमेदले १३ रन जोडे भने एबी डी भिलियर्स ११ रनमा आउट भए।
कोलकाताका सुनिल नारिनले ४ विकेट लिए। लक्की फर्गुसनले २ विकेट लिए।


























