असोज २५ । हाँस्य कलाकार मनोज गजुरेलले लगनगाँठो कसेका छन्। उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन्। न्याय सेवाको अधिकृत मञ्जु उदयपुरकी हुन्।
मनोजले सामाजिक सञ्जालमार्फत आफूले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेर परिवारको उपस्थितिमा विवाह गरेको उल्लेख गरेका छन्। ‘सपरिवार मानवसेवा आश्रम (कौशलटार) मा रहेका बुवाआमालाई खाना खुवाएर र खाएर विवाह सम्पन्न गरेका छौँ। परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद’, उनले लेखेका छन्।
मनोजको चार वर्ष अघि पहिलो श्रीमति मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए। मिनासँगको सम्बन्धविच्छेद पछि उनका एक छोरा र एक छोरी मनोजसँगै थिए।
‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो। त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो। यी दुवै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो। बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो,’ उनले लेखेका छन्।
मनोजले मञ्जु र आफ्नो एकै खालको परिवेश र उस्तै खालको भोगाई रहेको उल्लेख गरेका छन्।


























