असोज २५ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ।
आइतबार राति भएको खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो। मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे। कप्तान सुनिलले खेलको ८२ औं मिनेटमा गोल गरे। उनले फारुख चौधरीको हेडर पासमा गोल गरेका हुन्। भारतका लागि सुनिलको यो ७७ औं गोल हो।
नेपालविरुद्ध एकतर्फी खेल पस्किएको भारतले अन्य थुप्रै गोलको अवसर खेर फालेको थियो। पहिलो हाफको ३३ औं मिनेटमा सुनिलले खाली पोस्टमा गर्न सकेनन्। नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङ बिट भईसकेको अवस्थामा उनको वान टच प्रहारले पोस्टको दिशा लिन सकेन।
यस्तै खेलको ५७ औं मिनेटमा भारतका मनबिर सिंहले गोलको अवसर गुमाए। सिंहको फ्रि हेडर नेपालका कप्तान तथा गोलकिपर किरणले उत्कृष्ट बचाउ गरे। नेपालले दुबै हाफमा भारतविरुद्ध कुनैपनि डरलाग्दो पोस्ट आक्रमण गर्न सकेन।
यससँगै भारतले प्रतियोगितामा पहिलो जित निकालेको छ। भारतले ३ खेलमा ५ अंक जोडेको छ। भारत तेस्रो स्थानमा समेत उक्लिएको छ। नेपालको यो पहिलो हार हो। नेपालले ३ खेलमा ६ अंक जोडेको छ।
नेपाल दोस्रो स्थानमा झरेको छ। ६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ। भारतसँगको हारसँगै अब नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ। अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध बुधबार प्रतिस्पर्धा गर्ने छ।
अब बंगलादेशविरुद्ध बराबरी वा जित निकालेमा नेपाल फाइनल पुग्नेछ। बंगलादेशलाई भने नेपालविरुद्ध जितको बिकल्प छैन। बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ। यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ।
शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। श्रीलंका भने बाहिरिसकेको छ।


























