असोज २३ । रोयल च्यालेन्जर्स बैंगलोरले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोमान्चक जित निकालेको छ। दुबईमा शुक्रबार राति भएको खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको हो।
दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। बैंगलोरका लागि श्रीकर भारतले अविजित ७८ रनको अर्धशतकीय इनिङ्स खेले। ग्लेन म्याक्सवेलले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै एबी डी भिलियर्सले २६ रन जोड्दा कप्तान विराट कोहली ४ रनमा आउट भए। देवदत्त पड्डीकल सुन्य रनमा पेभेलियन फर्किए। दिल्लीका एन्रिच नोर्कियाले दुई तथा अक्षर पटेलले १ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। दिल्लीका लागि पृथ्वी शले ४८ रन जोड्दा शिखर धवनले ४३ रन बनाए। शिम्रन हिटमायरले २९ रन जोड्दा श्रेयस आयरले १८ रन बनाए। कप्तान ऋषव पन्त १० रनमा आउट हुँदा रिपल पटेलले अविजित ७ रन जोडे।
बैंगलोरका मोहमद सिराजले २ तथा युजभेन्द्र चाहल,हर्सल पटेल र डान क्रिसले एक एक विकेट लिए। यस जितसँगै बैंगलोरले १४ खेलमा १८ अंक जोडेको छ। प्ले अफ पुगिसकेको बैंगलोर तेस्रो स्थानमा रहेको छ।
दिल्ली २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ। दिल्ली क्वालिफायरमा पुगिसकेको छ।


























