काठमाडौं, असोज २३ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनल खेल आज (शनिबार) हुँदैछ।
टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल सवा १२ बजे सुरु हुनेछ।
सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो। र, दुबै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्छ।
पहिलो पटक उपाधि उचाल्न दुबै टिम तयार रहेका छन्। त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ। चितवनका कप्तान सोमपाल फाइनलमा आफ्नो टिमले प्रामाणित गर्नेमा आफु विश्वस्त रहेको बताउछन्।
‘बिगत भनेको बिगत हो। अब फाइनल छ। फाइनल भन्दा पनि मेरो लागि एउटा खेल हो,’ फाइनल अघि प्रि म्याच कन्फरेन्समा चितवनका कप्तान सोमपालले भनेका थिए, ‘प्रमाणित गर्ने एउटा अवसर छ। खेलाडीको रुपमा आत्मविश्वास छ। मलाई टिम र आफुबाट आत्मविश्वास छ।’
पहिलो क्वालिफायरमा चितवनले पोखरालाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो। तर, दोस्रो क्वालिफायरमा पोखराले भैरहवा ग्लाडियसर्टलाई हराएर फेरि चितवनसँगको भेट पक्का गरेको थियो।
पोखराका कप्तान विनोदले फाइनलमा राम्रो खेल्दै उपाधि जित्ने बताउँछन्।
‘फाइनल हो, लिगको बारेमा सोचेर बस्न मिल्दैन। फाइनलमा जुन टिमले राम्रो खेल्ने त्यहिँ टिमले जित्ने हो,’ कप्तान विनोदले भने, ‘फाइनल पुगेको दुबै टिम राम्रो हो। अर्को टिम नराम्रो हाम्रो टिम राम्रो भन्न मिल्दैन। त्यसैले आजको दिनमा जसले राम्रो क्रिकेट खेल्छ उसैले जित्छ।’
कप्तान विनोदले फाइनलमा सबै टिमलाई दबाब हुने समेत बताए।
‘फाइनलमा दबाब हुन्छ। त्यो दबाबमा कसरि लिने भन्ने हुन्छ। तर, सामान्य खेलको रुपमा सोचेर खेल्नु पर्छ,’ उनले थपे।
यसै संस्करणको अघिल्ला दुई भेटमा चितवनले पोखरालाई हराएको थियो। लिग चरण र क्वालिफायर भेटमा चितवनले समान ९ विकेटको जित निकालेको थियो।
चितवन उक्त जितलाई कायम राख्न चाहन्छ। तर, पोखरा भने फाइनलमा बदला लिन चाहन्छ। यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन्।
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









