असोज २२ । आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई फराकिलो अन्तरले हराएको छ।
सारजाहमा बिहीबार राति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८६ रनले हराएको हो। कोलकाताले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा सीमित भयो।
राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ४४ रन बनाए। शिबम डुबेले १८ रन बनाउन बाहेक अन्यले उल्लेख्य योगदान गर्न सकेनन्। राजस्थानलाई सस्तैमा समेट्न कोलकाताका शिभम माभीले ४ तथा लकी फर्गुसनले ३ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो। कोलकत्ताका शुबमन गिलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले। भेन्काटेस इयरले ३८ तथा राहुल त्रिपाठीले २१ रन बनाए।
जितसँगै कोलकत्ता १४ खेलमा १४ अंकसहित चौथो स्थानमा उक्लिएको छ। उसले प्ले अफ सम्भावना कायम राखेको छ। राजस्थान १० अंक जोडेर सातौं स्थानमा छ।


























