बेलायत, चैत्र २४ । बेलायतकी महारानी एलिजावेथ द्वितीयले आइतबार साँझ बेलायतवासीलाई एक विशेष सम्बोधन गरेकी छन्। ६८ वर्षसम्म बेलायतको राजगद्धीमा बसेकी महारानीले देशवासीका नाममा गरेको यो मात्र पाँचौ विशेष सम्बोधन हो।
यसअघि आफ्नो राज्यारोहणको ६० वर्ष पुगेको अवसरमा सन् २०१२ मा विशेष सम्बोधन गरेकी उनले त्यसअघि सन् २००२ मा आफ्नी आमाको अन्त्येष्ठीको पूर्वसन्ध्यामा, सन् १९९७ मा युवराज्ञी डायनाको अन्त्येष्ठीको पूर्वसन्ध्यामा र सन् १९९१ मा इराक युद्ध शुरु हुने बेला विशेष सम्बोधन गरेकी थिइन्।
यसपटकको विशेष सम्बोधन कोरोना भाइरस (कोभीड १९) को महामारी प्रति लक्षित रहेको थियो। ४ मिनेट १९ सेकेन्डको उक्त रेकर्डेड भिडियो सन्देशमा कोरोनाविरुद्धको लडाईमा सफलता हात पर्ने आशा व्यक्त गरेकी छन्। यस्तो चुनौतिपूर्ण अवसरमा काम गर्ने स्वास्थ्यकर्मीलगायत सम्पूर्ण कामदारहरुलाई धन्यबाद दिएकी छन्।
यस अघि पनि थुप्रै चुनौतिहरुको सामना गरेतापनि यसपटकको चुनौती फरक भएकोले संसारभरिका सबै राष्ट्र मिलेर साझा प्रयासमा अघि बढिरहेको र यसले हामि सबैलाई सफलता मिल्ने बताएकी छन्। यस्तो विषम परिस्थितिमा आफन्तजन र प्रियजनबाट टाढा हुनेहरूप्रति सहानुभुति व्यक्त गर्दै उनले भनिन् ‘अझै कठिन परिस्थितिहरु आउन सक्छन तर हामी पुनः एकसाथ हुनेछौ र हामीहरु फेरी पनि भेट्नेछौं।‘
आफ्नो सम्बोधनमा घरैमा बसेर सरकारको नियम पालना गर्ने सम्पूर्ण बेलायातवासीलाई धन्यबाद ज्ञापन गर्दै सहयोगमा जुत्नेहरुको प्रशंसा समेत गरिन्।





















