काठमाडौं, असोज २१ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको बन्द प्रशिक्षण कात्तिक ३ गतेबाट सुरु हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को बिहीबार बसेको बोर्ड बैठकले महिला टिमको प्रशिक्षण कात्तिक ३ बाट गर्ने निर्णय गरेको हो। बन्द प्रशिक्षण काठमाडौंमा हुने क्यानले जनाएको छ।
युएईमा आयोजना हुने आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाली टिमले तयारी गर्न लागेको हो। छनोट आगामी नोभम्बरमा हुनेछ। क्यानले छनोटका लागि प्रारम्भिक चरणमा २४ खेलाडीलाई डाकेको छ। क्यानले बोलाएको टिममा रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई र सरस्वती चौधरी छन्।
यस्तै अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वती जीएम, कन्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुवर, डलि भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योति पाण्डे, बिनु बुढामगर, करुणा भण्डारी र सरिता मगर रहेका छन्।


























