काठमाडौं, असोज २१ । पोखरा राइनोज चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखरा उपाधि नजिक पुगेको हो। भैरहवाले दिएको १ सय २० रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। पोखराको जितमा सहन अर्चाचिगेले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले।
विपिन रावल ४० रनमा अविजित रहे। रिचर्ड लेभीले १४ र रित गौतमले ६ रन जोडदा लोकेश बम शुन्य रनमा आउट भए। भैरहवाका भुवन कार्कीले २ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो। भैरहवाका लागि कप्तान शरद भेषवाकरले अविजित रहदै सर्वाधिक ३२ रन बनाए।
त्यस्तै आरिफ शेख २७, रोहित पौडेल १८, प्रदिप ऐरी ११, उपुल थरंगा १०, धम्मिका प्रसाद ४, सर्भिन मुनिएण्डी ३ र कुशल मल्ल १ रन बनाए। पोखराका किशोर महतो र सहन अर्चाचिगेले समान २/२ विकेट हात पार्दा नन्दन यादव र असेला गुनारत्ने १/१ विकेट लिए।
यससँगै पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो। अब पोखराले फाइनलमा चितवन टाइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा पोखरा चितवनसँग नै पराजित भएको थियो। चितवन पनि पहिलो पटक फाइनल पुगेको हो।
प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।


























