काठमाडौं, असोज २० । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बुधबार दुई खेलहरु हुँदैछ।
टियु क्रिकेट मैदानमा आज प्ले अफ अन्तर्गतको क्वालिफायर र एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। चितवन र पोखराबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ।
सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहदै क्वालिफायर पुगेको हो। विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्न लागेको हो।
चितवन र पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ। यस खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले दोस्रो क्वालिफायरको मौका पाउने छ। दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ।
बुधबार नै हुने एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ। यस खेल दिउँसो साढे १ बजे सुरु हुनेछ। शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चौंथो स्थानमा रहदै एलिमिनेटर खेल्न लागेको हो।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ।


























