काठमाडौं, असोज १५ । मोहमद शाहजाद र भिम सार्कीले अर्धशतकीय इनिङ्स खेलेपछि चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ।
टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पोखरा राईनोजलाई ९ विकेटले पराजित गर्दै चितवनले तेस्रो जित निकालेको हो। पोखराले दिएको १ सय २४ रनको लक्ष्य चितवनले १६ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो। चितवनको जितमा शाहजाद र सार्कीले अविजित १ सय २२ रनको साझेदारी गरे।
५२ बल खेलेका शाहजादले दुई छक्का र ७ चौकाको मद्दतमा सर्वाधिक ६३ रन जोडे। सार्कीले ४२ बलमा ५४ रनको योगदान गरे। भिमले दुई छक्का र ५ चौका प्रहार गरेका थिए।
ओपनर इशान पाण्डे भने शुन्य रनमा आउट भए। पोखराका बिक्रम सोवले एक विकेट हात पारे।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनको योगफल तयार गरेको थियो।पोखराको लागि विवेक यादवले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४५ बलमा ३ छक्का र ३ चौका प्रहार गरे।
एक समयमा ४२ रन जोड्दा पाँच विकेट गुमाएको पोखराको इनिङ उकास्न विवेक यादव र असेला गुनारत्नेले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे । गुनारत्नेले २५ रनको योगदान गरे।
रिचर्ड लेभीले १७ वलमा दुई छक्का र एक चौकाको मदतमा २० रन जोडे। लोकेश वम ८, कप्तान विनोद भण्डारी ५, रित गौतम २ रनमा आउट भए भने सुनिल धमला शुन्य रनमै पभेलियन फर्किए।
चितवनका शाहब आलम र कमल सिंह ऐरीले समान दुई/दुई विकेट लिदा सोमपाल कामीले एक विकेट हात पारे।
यस जित चितवन ३ खेलमा ६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पोखराले ३ खेलमा ३ अंक जोडेको छ। पोखरा चौंथो स्थानमा रहेको छ।


























