असोज १५ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज शुक्रबार दुई खेलहरु हुँदैछन्।
टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्सबीच प्रतिस्पर्धा हुनेछ। विराटनगर र ललितपुरबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ।
करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जितको खोजीमा हुनेछ। विराटनगरले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो। विराटनगर अंक विहीन रहदै पुछारमा रहेको छ।
कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर पनि पहिलो जित निकाल्न चाहन्छ। साविक विजेता समेत रहेको ललितपुरले ३ खेलमा मात्र १ अंक जोडेको छ।
शीर्ष चारको होड कायम राख्न ललितपुरलाई यस खेल महत्वपूर्ण रहेको छ। ललितपुर पुछारबाट दोस्रो स्थानमा रहेको छ।
यस्तै दोस्रो खेलमा पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ। चितवन र पोखराबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ।
सोमपाल कामीको कप्तानीमा रहेको चितवन लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ। चितवनले अघिल्ला दुबै खेल जितेको थियो।
चितवन २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ।
विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा भने दोस्रो जित निकाल्न चाहन्छ। पोखराले २ खेलमा ३ अंक जोडेको छ। र, लिगको तेस्रो स्थानमा रहेको छ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन्।
लिग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन्। इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन्।
क्वालिफायर १ को विजेता फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ।

























