असोज १५ । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आज शुक्रबारबाट माल्दिभ्समा सुरु हुँदैछ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ। यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ।
लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन्। र, लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन्।
१३ औं साफको पहिलो दिन शुक्रबार दुई खेलहरु हुनेछन्। पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन्।
दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति पाैने १० बजे सुरु हुनेछ।
नेपाली टिम पहिलो पटक साफको उपाधि उचाल्ने लक्ष्यसहित माल्दिभ्स गएको छ। र, घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्न चाहन्छ।
नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पटक पटक साफको उपाधि जित्ने लक्ष्य रहेको बताउँदै आएका छन्। साफ उनको लागि पनि वास्तविक परिक्षा हुनेछ।
नेपाललाई साफको उपाधि उचाल्न सहज भने हुने छैन। साफको इतिहास हेर्दा नेपालको सबैभन्दा उत्कृष्ट नतिजा सेमिफाइनल हो। नेपाल साफको फाइनल समेत पुग्न सकेको छैन।
अलमुताइरीको नेतृत्वमा रहेको नेपाली टिम यस पटक भने उच्च मनोबलमा रहेको छ। युवा र अनुभवी खेलाडीको समिश्रण रहेको नेपाली टिमले फाइनल खेल्ने योजना बनाएको छ।
नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ समेत उत्कृष्ट नतिजा निकाल्ने बताउँछन्।
मालेमा बिहीबार आयोजित प्रि-म्याच कन्फरेन्समा कप्तान किरणले माल्दिभ्समा कुनैपनि टिमसँग नडराउने र उत्कृष्ट नतिजाका लागि मैदानमा लड्ने बताए।
‘पक्कै पनि उनीहरुलाई घरेलु मैदानको फाईदा हुनेछ। घरेलु समर्थक हुनेछ। तर, यसले फरक पार्दैन। हाम्रो उपनाम गोर्खाली हो । हामीले विश्वमा इतिहास बनाएका छौँ । हामी कसैसँग डराउने छैनौँ,’ कप्तान किरणले भने, ‘होम र अवेले फरक पार्दैन। हामी माल्दिभ्सका समर्थकलाई सम्मान गर्छौं। हामी मैदानमा नतिजाका लागि लड्ने छौँ।’
कप्तान किरणले नेपाली टिममा युवा र अनुभवी खेलाडीको मिश्रण रहेको र नतिजाका लागि अन्तिमसम्म प्रतिस्पर्धा गर्ने बताए।
‘सबै खेल कठिन छ। तर, हामी फाइट गर्ने छौँ। हामीसँग युवा र अनुभवी गरि राम्रो मिश्रित टिम छ। हामी फाइनल पुग्न चाहान्छौ। जसका लागि हरेक खेल जित्नु पर्छ,’ उनले थपे।
माल्दिभ्स जानु अघि नेपाली टिमले कतारमा विशेष तयारी गरेको थियो। नेपालले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा नेपालले ७-२ को हार व्यहोरेको थियो।
त्यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा नेपालले भारतसँग १-१ को बराबरी खेल्दा दोस्रो खेलमा २-१ को हार व्यहोरेको थियो।
यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ।
नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।


























