चितवन, असोज १४ । भरतपुर अस्पतालबाट चालु आर्थिक बर्षको दुई महिनामा ११ सय ५६ जना बिरामीले निःशुल्क सेवा लिएका छन्। अस्पतालको सामाजिक सेवा इकाईबाट चालु आर्थिक बर्षका श्रावण र भदौ महिनामा मात्र ६ सय ४ महिला र ५ सय ५२ पुरुष गरि ११ सय ५६ जनाले सेवा पाएको अस्पतालका प्रवक्ता डा.युवानिधि बर्सौलाले जानकारी दिए।
गरिब तथा विपन्न वर्गलाई निःशुल्क आकस्मिक सेवा वापत सोही दुई महिनामा ४ सय ११ जनालाई १२ लाख ४६ हजार १ सय १३ रुपैयाँ बराबरको सेवा प्रदान गरिएको बर्सौलाले जानकारी दिए। साथै विपन्न नागरिक उपचार कार्यक्रम अन्र्तगत गत आर्थिक बर्ष स्पाईनल इन्जुरी भएका २६ जना बिरामीलाई ८ लाख २९ हजार ९ सय रुपैयाँ बराबरको निःशुल्क उपचार गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ।
डायलाइसिस सेवा अन्तर्गत १ सय ५८ जना बिरामीलाई सेवा प्रदान गरिएको छ। उनिहरुको उपचारका लागि २ करोड १८ लाख ४५ हजार रुपैयाँ खर्च भएको अस्पतालले जानकारी दिएको छ।



























