असोज १३ । राजधानीमा जारी छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत आज बुधबार पुरुष र महिलातर्फ गरि ६ खेलहरु हुँदैछन्।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज पुरुषतर्फ ४ र महिलातर्फ २ खेलहरु हुने छन्। आज हुने पुरुषको पहिलो खेलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। पुलिस र गण्डकीबीचको खेल बिहान ८ बजे सुरु हुनेछ।
पुरुषको दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लबबीच प्रतिस्पर्धा हुनेछ। यस खेल बिहान १० बजे सुरु हुनेछ। तेस्रो खेलमा हेल्प नेपाल र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। हेल्प र गल्कोटबीचको खेल १२ बजे सुरु हुनेछ। पुरुषको चौंथो खेलमा प्रदेश(२ र बागमती प्रदेशबीच खेल हुनेछ। यस खेल दिउँसो २ बजे सुरु हुनेछ।
यस्तै महिलातर्फको पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टिमबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ।महिलातर्फको दोस्रो खेलमा एभरेष्ट क्लब बुटवल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ।
च्याम्पियनसिपको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गर्नेछ। नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ।
च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन्। महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन्। तेस्रोले १ लाख प्राप्त गर्नेछन्।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन्। पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल र महिलामा एपिएफ क्लब च्याम्पियन बनेको थियो।


























