असोज १३ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बुधबार दुई खेलहरु हुँदैछन्।
टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। ललितपुर र पोखराबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ।
कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर आज पहिलो जित निकाल्ने योजनामा रहेको छ। पहिलो खेलमा ललितपुर काठमाडौं किङ्स-११ सँग पराजित भएको थियो।
विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पनि पहिलो जितको खोजीमा रहेको छ। पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो। वर्षाको कारण खेल रद्द भएपछि पोखराले एक अंक पाएको थियो।
यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र विराटनगर वारिवर्सबीच प्रतिस्पर्धा हुनेछ। भैरहवा र विराटनगरबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ।
शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ। वर्षाको कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो।
विराटनगर पनि पहिलो जित निकाल्न चाहन्छ। विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो। प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन्।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ।


























