काठमाडौं, असोज १० । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को सोमबार भएको पहिलो खेलमा चितवन टाइगर्सले जित हात पारेको छ। जारी प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको हो।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिला ब्याटिङ गर्दै विराटनगरले ९ विकेट गुमाएर १५१ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको चितवनले अन्तिम बलमा चौका प्रहार गर्दै ८ विकेटको क्षतिमा जित हात पार्यो।
चितवनको जितमा राजेश पुलामीले नटआउट ४३ रनको योगदान दिए। यस्तै भीम सार्कीले ३० रन बनाए भने दीलिप नाथले २३ रनको योगदान दिएका थिए। ओपनर इशान पाण्डे १० र मोहम्मद शहजाद १ रनमा आउट भएपछि राजेशले इनिङ्ग्स सम्हालेका थिए।
विराटनगरका लागि कप्तान करण केसी र सिकन्दर राजाले २–२ विकेट लिए।
यसअघि खराब ब्याटिङ गरेको विराटनगरलाई सिकन्दर राजाले ६७ रन बनाउँदै चुनौतीपूर्ण स्कोरसम्म पुर्याएका थिए। विराटनगरका ३ ब्याटर शून्यमा आउट हुँदा ३ जनालेमात्र दोहोरो अंकमा रन बनाएका थिए।
चितवनका लागि कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जन्नत र सागर ढकालले २–२ विकेट लिएका थिए।


























