काठमाडौं, असोज १० । विभागीय टिम त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विजयी सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मीले सुखद सुरुवात गरेको हो।
राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले कर्णालीलाई पहिलो सेटमा २५-८, दोस्रो सेटमा २५-१४ र तेस्रो सेटमा २५-७ ले पराजित गर्यो।
यस जितसँगै आर्मीले पहिलो खेलमै ३ अंक जोडेको छ। कर्णालीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।
आज हुने दोस्रो खेलमा समूह डीको एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल बिहान ११ बजे सुरु हुनेछ। पुरुषतर्फको तेस्रो खेलमा समूह ए को बागमती प्रदेश र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ।
चौंथो खेलमा नेपाल पुलिस क्लब र दावाली मिलन क्लबबीच साढे ३ बजे प्रतिस्पर्धा हुनेछ।
महिलातर्फको खेल मंगलबार सुरु हुनेछ। महिलाको पहिलो खेलमा एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ।
क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन्। विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन्। तेस्रोले १ लाख प्राप्त गर्नेछ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन्।


























