चितवन, असोज ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा उनकै पार्टीलाई अर्को धक्का लागेको छ।
नेकपा माओवादी केन्द्र जिल्ला सदस्यसहित २५ जना नेकपा एमालेमा प्रवेश गरेका हुन्। माओवादी केन्द्र जिल्ला सदस्य सुरेन्द्र वस्नेतसहित २५ जना एमालेमा प्रवेश गरेका हुन्। खैरहनी ४ मा शनिवार एक कार्यक्रमका बीच नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य जेएन थपलियाले टिका लगाएर उनीहरुलाई पार्टी प्रवेश गराए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै प्रतिस्पर्धीका रुपमा चुनावमा लड्न सक्ने उनकै पूर्व सहकर्मी रामवहादुर थापा वादलले वताएको भोली पल्ट केन्द्रका जिल्ला सदस्य एमालेमा प्रवेश गरेका हुन्।
केही दिन अघि मात्रै इच्छाकामनामा माओवादी केन्द्रका जिल्ला सदस्य एमालेमा प्रवेश गरेका थिए। गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले एक जना वडा सदस्य समेत जित्न सकेको थिएन भने चारै पालिकामा नेकपा एमालेले जित हात पारेको थियो।


























