असोज ९ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आज शनिबारबाट सुरु हुँदैछ।
टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स- ११ बीच प्रतिस्पर्धा हुनेछ। ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह सावा १२ बजे सुरु हुनेछ।
कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ। ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि ललितपुरको कप्तानी कुशलले पाएको हो।
ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो,सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाके जस्ता खेलाडी रहेका छन्।
काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ। काठमाडौं पनि सुखद सुरुवात गर्ने योजनामा हुनेछ। काठमाडौंको टिममा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिंगापुरका जनक प्रकाश जस्ता खेलाडी रहेका छन्।
ललितपुर र काठमाडौंबीचको पछिल्लो भेटमा ललितपुर बलियो देखिएको छ। ललितपुरले यस अघिको तीन भेटमा जित निकालेको थियो।
चौंथो संस्करणको प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ।


























