असोज ४ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई हराएको छ।
दुबईमा आइतबार राति चेन्नईले साविक विजेता मुम्बईलाई २० रनले हराएको हो। चेन्नईले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो। मुम्बईका लागि सौरभ तिवारीले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै क्विन्टन डी ककले १७ रन जोड्दा अनमोलप्रित सिंहले १६ रन बनाए। एडम मिल्नेले १५ रनमा बनाए। चेन्नईका ड्वाने ब्राभोले ३ तथा दिपक चाहरले २ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो। चेन्नईका रुतुराज गायकवाडले अविजित रहदै ८८ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै रविन्द्र जडेजाले २६ रन जोड्दा ड्वाने ब्राभोले २३ रन बनाए।
मुम्बईका ट्रेन्ट बोल्ट, एडम मिल्ने र जस्प्रित बुम्राहले २र२ विकेट लिए। यस जितसँगै चेन्नईले ८ खेलमा १२ अंक जोडेको छ। चेन्नई शीर्ष स्थानमा उक्लिएको छ। मुम्बई ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ।
चेन्नई र मुम्बईको खेलसँगै कोरोना भाईरसको कारण स्थगित आईपीएलको बाँकी खेल सुरु भएको छ। आईपीएलमा अब ३० खेलहरु बाँकी रहेको छ। फाइनल खेल अक्टोबर १५ मा हुनेछ।


























