भदौ २६ । चेल्सीका खेलाडी क्रिस्टियन पुलिसिचले तीन खेल गुमाउने भएका छन्। अमेरिकाका अन्तराष्ट्रिय खेलाडी पुलिसिचले घुँडाको चोटका कारण कम्तिमा १० दिन मैदान बाहिर रहने भएका हुन्।
विश्वकप छनोट अन्तर्गत होन्डरुसविरुद्ध पुलिसिचले चोट बोकेका थिए। चेल्सी प्रशिक्षक थोमस टुचेलले पुलिसिचले चेल्सीको आगामी तीन खेल गुमाउने स्पष्ट पारेका छन्। २२ वर्षिय विङ्गर अमेरिकाले होन्डरुसलाई ४–१ ले पराजित गरेको खेलमा चोट बोकेका हुन्।
पुलिसिचले प्रिमियर लिगका अघिल्ला दुई खेल गुमाईसकेका छन्। कोभिड–१९ बाट संक्रमितको सम्पर्कमा रहेका कारण उनले चेल्सीको पछिल्लो दुई खेल गुमाएका थिए। तर उनी लामो समय मैदान बस्न परेन।
प्रशिक्षक टुचेलले एनगोलो कान्टेसमेत शनिबारको खेलमा उपलब्ध नहुने बताएका छन्।
‘दुभाग्यवस हामीसंग दुई खेल हुने छैनन्। एनगोलो कान्टे र पुलिसिच चोट सहित फर्किएका छन्।’ प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्धको खेल अघि टुचेलले भने।
‘कोन्टेले लिभरपुलविरुद्धको खेलमा चोट बोकको थिए। उनलाई मंगलबारको खेलमा प्रयास गरिनेछ। त्यो समयसम्म उनी पक्कै ठिक हुनेछन्।’ उनले थपे।
‘पुलिसिच दुर्भाग्यवस हिजो बैसाखी टेकेर आएका छन्। उनी करिब १० दिन मैदान बाहिर रहनेछन्।’ टुचेलले भने।
पुलिसिचले एस्टन भिल्लासंगै च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा जेनिट र कारबाओ कपको टोटेनहमविरुद्धको अवे खेल समेत गुमाउने बताईएको छ। एजेन्सी


























