भदौ २० । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको दोस्रो खेल आज हुदैछ। खेल साझ साढे ५ बजे दशरथ रंगशालामा हुदैछ। यस अघि विहिबार भएको खेल १-१ गोलको बराबरीमा टुंगिएको थियो।
नेपाल र भारबीच अहिलेसम्म फुटबलमा २० पटक भिडन्त भएको छ। भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटी मात्र जित निकाल्न सकेको छ। पाँच खेलमा दुवै टोलीले बराबरी खेलेका छन्। विश्व फुटबल महासङ्घको (फिफा) वरियतानुसार भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा रहेको छ।
विहिबार नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेलमा एक-एक गोलको बराबरीमा खेल सकिएको थियो। नेपालले पहिलो हाफमा अग्रता लिएको थियो। सो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न नसक्दा बराबरी खेल्नु परेको हो। नेपाल पहिलो हाफमा १–० गोलले अगाडि रहेको थियो। नेपालका लागि खेलको ३६औं मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए। राष्ट्रिय टोलीका लागि अञ्जनको त्यो पाँचौ गोल हो। यसअघि चाइनिज ताइपेविरुद्ध विश्व कप छनौटका दुई खेलमा ३ गोल गरेको अञ्जनले अर्को गोल इराकविरुद्धको मैत्रीपूर्ण खेलमा गरेका थिए।
नेपालले दोस्रो हाफमा पनि गोलको प्रयास गरेको थियो। भारतीय गोलकिपर गुरप्रितसिंह सान्धुले नेपाली टोलीको प्रयास विफल पारिदिएका थिए। मध्यान्तरपछिको खेलमा भारतले नेपालविरुद्ध गोल गर्न सफल भयो। खेलको ६०औँ मिनेटमा भारतका लागि अनिरुद्ध थापाले गोल गरेका थिए।
किरण चेम्जोङको किर्तिमान बन्दै
नेपाली गोलकिपर चेम्जोङले नेपालको तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका विराज महर्जनसँग विहिबार बराबरी गरेका थिए। महर्जनले नेपाली टोलीबाट सन्यास लिइसकेका छन्। महर्जन र चेम्जोङ नेपाली टोलीबाट समान ७३ खेल खेलेका छन्। आजको किरणले नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन्।
भारतसँगको मैत्रीपूर्ण खेलपछि शुक्रबार नेपाली टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि कतार जानेछ। नेपाली टिम कतारबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपमा भाग लिन जानेछ। आयोजक समेत रहेको साविक विजेता माल्दिभ्सविरुद्ध नेपालले असोज १५ गते पहिलो खेल खेल्दै छ।
त्यस्तै नेपालको दोस्रो खेल श्रीलंकाविरुद्ध असोज १८ गते खेल्ने छ भने भारतविरुद्ध असोज २४ गते खेल्ने छ। त्यस्तै बंगलादेशविरुद्ध असोज २८ गते खेल्ने छ।


























