काठमाडौं, भदौ १७ । सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनको औपचारिक शुरुवात भोलि (शुक्रबार) गाउँरनगर वडा अधिवेशनबाट हुने भएको छ। झण्डै १० लाख क्रियाशील सदस्य रहेको नेपाली कांग्रेसको महाधिवेशन डेढ वर्ष ढिलो गरी साढे पाँच वर्षपछि हुन लागेको हो।
वडा अधिवेशनबाट शुरु भएर सात चरणमा हुने महाधिवेशनको प्रक्रिया केन्द्रीय पदाधिकारीको निर्वाचनसँगै सम्पन्न हुनेछ। केन्द्रीय महाधिवेशन मंसिरको ९ देखि १३ गतेसम्म हुनेछ।
क्रियाशील सदस्यताको विवरण टुङ्गो लागेका ५६ जिल्लामा समयमै गाउँरनगर अधिवेशन शुरु गर्न केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि परिचालन गरेको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कतिपय गाउँरनगर वडामा सर्वसम्मत प्रतिनिधिहरूको चयनका लागि सहमति बनिसकेको र कतिपयमा निर्वाचनका लागि तयारी पूरा भएको बताए। क्रियाशील सदस्यता टुंगो लागेको ५६ जिल्लाका अधिकांश वडामा अधिवेशन सुरु हुनेछ।
नेपाली कांग्रेसले गाउँरनगर वडा अधिवेशन प्रक्रियासम्बन्धी भिडियो भर्खरै सार्वजनिक गरेको छ।
भदौ २७ मा गाउँ/नगरपालिका अधिवेशनको मिति तय भएकाले बाढी, पहिरो तथा कोभिड-१९ संक्रमणको अवस्थालाई समेत दृष्टिगत गरिकन केन्द्रीय निर्वाचन समितिबाट अनुमति लिएर २७ गते अगाडि उपयुक्त मितिमा वडा अधिवेशन गर्न लचक कार्यतालिका रहेको शर्माले बताए।
केन्द्रीय कार्यसमितिका सबै जना, संघीय सांसद र संघीय सांसदको निर्वाचन लडेका सबै, प्रदेश सभा सांसद र प्रदेश सभाको निर्वाचन लडेका सबै, राष्ट्रिय सभा सांसद र राष्ट्रिय सभाको निर्वाचन लडेका सबै स्वतः क्षेत्रीय (वडा) प्रतिनिधि हुन्छन्। तर उनीहरूले क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन चाहेमा वडाको निर्वाचनमा भाग लिन सक्छन्।
यसबाहेक पार्टीका हरेक संरचनामा उम्मेद्वार बन्न क्षेत्रीय प्रतिनिधि बन्न अनिवार्य हुन्छ। त्यसकारण कांग्रेसका नेता तथा कार्यकर्ता गाउँ-गाउँमा पुगेका छन्। अघिपछि निस्क्रिय देखिए पनि अधिवेशनका कारण कांग्रेसी नेता-कार्यकर्ता गाउँ-टोलभरी पुगेका छन्।
निर्वाचनमा कांग्रेसका कार्यकर्ता दुबो जसरी देखापर्ने गरेको भन्दै कम्युनिस्ट पार्टीका नेताहरूले टिप्पणीसमेत गर्ने गरेका छन्। कम्युनिस्ट नेताहरू बेलाबखत टिप्पणी गर्छन्, ‘जब चुनाव हुन्छ, तब चारैतिर कांग्रेस मात्रै देखिन्छन्। यिनीहरु जस्तो सुकै चुनावका बेला पनि वर्षे दुवो जसरी ह्वात्तै देखापर्छन्।’
नेपाली कांग्रेस १४औं महाधिवेशन – क्षेत्रीय प्रतिनिधि निर्वाचन प्रक्रिया! pic.twitter.com/XAXhk3SHFv
— Nepali Congress (@NepaliCongress) September 2, 2021


























