तनहुँ, भदौ १७ । बोलेरोको ठक्करबाट तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा लमजुङ जिल्ला घर भई हाल भानुनगरपालिका–१ निवासी ३४ वर्षीय सुनिल सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ साठीमुरे भन्ने स्थानमा बुधबार साँझ बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो। दमौलीबाट थर्पुतर्फ जाँदै गरेको ग ३ च २४४३ नंको बोलेरोले विपरीत दिशामा गुडिरहेको बा ६५ प ४६६० नंको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक सार्की सख्त घाइते भएका थिए।
घाइते सार्कीको दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपश्चात गण्डकी मेडिकलमा सिफारिस गरिएको थियो। उपचारका क्रममा उनको सोही मेडिकलमा मृत्यु भएको हो। बोलेरो र त्यसका चालक म्याग्दे गाउँपालिका–३ का २७ वर्षीय विनोद श्रेष्ठ प्रहरी नियन्त्रणमा छन्।
दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। रासस


























