साँझपखको लामो निन्द्राले होला, राति अबेरसम्म आँखाहरु झिमिक्क हुन मानेनन्। रातभरि पानी परिरहेको थियो। मनमा रङ्गिन र रङ्गहीन छालहरू बेग्र गतिमा उब्जिरहेका थिए। प्रत्येक पानीका थोपा थोपाले हृदयस्पर्शी संगीतको झन्को दिँदै थियो। कल्पनामा मन र तन खुला आकाशमा पंक्षी उडेझैँ निर्वाधरुपमा रम्दै थिए। तर अपसोच धेरै उचाईमा पुगेपछि रहरमा पनि बादल छाउँदो रहेछ। निरन्तर वर्षिरहेका पानीका थोपाले बगाइरहेको माटोको कणहरु, रुखबाट विक्षिप्त हुँदै झरेका पातहरू, रुझिरहेका पशुपंक्षीहरु…..
मनवादी र प्रतिवादीमा जोर कि तोरसहित कस्साकस्सी गरिरहन्छ। एकातिर प्यासीको प्यास मेटाइरहेको छ, बिरूवाहरुलाई नवीन पालुवाले हराभरा बनाइरहेका छन्। कयौँ जोडीहरु प्रेममा मग्नमुग्ध छन्, प्रकृतिमा उत्साह र उमङ्गले नौलो वहार ल्याएको छ। त्यत्तिकैमा प्रतिवादी झसक्क हुन्छ र आफ्ना वेदनाहरु वहकिन थाल्छ। बिनाशकारी हावाहुरी, दर्दनाक गर्जनसहितको गड्याङगुडुङ र झल्याकझुलुकले प्रलयको सङ्केत गरिरहेको छन्।
रूखहरूसँगै कयौँ सपनाहरु डगमगाइरहेका छन्, ढलिरहेका छन्, बगिरहेका छन्; सास्ती र विलयको सास काँपिरहेको छ। अन्तरद्वन्द्व चर्किरहेको थियो। निन्द्राले आँखा बटारिन लाग्दछन्। र, मन्द निन्द्रामा झुप्पुक हुन्छु। एक्कासी झ्यालबाट एक झुक्की चिसो हावा पर्दालाई माथि धकाल्दै भित्र छिर्छ। छिनैमा झिलिक्क बिजुली चम्कन्छ र गड्याङगुडुङ गर्छ; झसङ्ग हुन्छु। आँखाहरु फेरि टाठा टाठा हुन्छन्। बहसहरु फेरि लगाताररूपमा चल्न थाल्दछन्। तर प्रसङ्ग थोरै बदलिन्छ।
बाहिरी जगतबाट टाढा भएर आफ्नै दुनियामा प्रवेश गर्दछ। जिन्दगीले डोर्याइरहेको बाटोको गन्तव्य कहाँ होला, जिन्दगी चमेलीजस्तै बास्नादार मात्र होला कि गुलाबजस्तो आकर्षक मात्र, के जिन्दगी सोचेको जस्तो बाटोमा गइरहेको छ? निन्द्राबाट बुझाइराख्ने सपनाहरु कहिले मिठो निन्द्रा बनिदेलान्। धड्किरहेको स्पन्दनले कहिले न्यानो स्पर्श पाउला?
प्रश्नहरूले पहाडमा भेल बगाइरहेका बेला, भूकम्प आएझैं पहिरो खस्छ र गड्गडाहट बगिरहेको छहरे थुनिदिएर समथर तलाउ बनिदिन्छ। हरेक सपनाहरुमा पूर्णविराम चिन्ह अंकित हुन्छ। पानी बिस्तारै कमकम हुँदै जान्छ र आँखाहरु पनि लठ्ठ हुन्छन्। यत्तिकैमा निन्द्रादेवीको काखमा भुसुक्क हुन्छु।
-आकाश ओझा
B.Sc Agriculture, IAAS
Paklihawa
























