काठमाडौं, भदौ १० । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सकिएको छ। बैठकले निर्वाचन आयोगबाट भएका केही निर्णयको विरुद्धमा सर्वोच्च अदालत जाने निर्णय गरेको छ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। ‘निर्वाचन आयोगबाट केही विवादास्पद निर्णय भएका छन्। अनुपस्थित भएका र पार्टीले कारबाही गरेका सदस्यहरूलाई सनाखत गराउने काम त्यहाँबाट भएका छन्। हामी त्यसको कानुनी उपचार खोज्छौँ। यसको हामीले यथोचित, कानुनसम्मत विरोध गर्छौँ, उनले भने।’
उनले आफूहरू अदालत जाने बताए। उनले थप प्रष्ट पार्दै भने, ‘सनाखत गर्ने भनेको हस्ताक्षर रुजु गर्ने हो। तर, हस्ताक्षर नै नभएका व्यक्तिहरूलाई कुन आधारमा सनाखत भयो ? कयौँ कुराहरू यो ढंगको देखिएका कारणले हामीले कानुनसम्मत गर्छौँ भनेका हौँ। कानुनसम्मत गर्छौँँ भनेको अदालत जान्छौँ भनेका हौँ।’


























