भदौ ७ । इटालियन सिरी ए फुटबलको आफ्नो पहिलो खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा युभेन्ट्स युडिनेजीसँग २-२ गोलको बराबरीमा रोकिएको हो।
युडिनेजीको मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्नु परेको हो। खेलको तेस्रो मिनेटमा पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए। २३ औं मिनेटमा जुवान कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई २-० को अग्रता दिलाए।
तर, खेलको ५१ औं मिनेटमा रोबर्टो पेरिय्राले गोल गर्दै युडिनेजीलाई २-१ को स्थितिमा ल्याए। त्यसपछि खेलको ८३ औं मिनेटमा जेरार्ड डेउलोफेउले गोल गर्दै खेल २-२ को स्थितिमा ल्याएर युडिनेजीलाई हारबाट जोगाए।
यस्तै खेलको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि गोलको मान्यता नपाउदा युभेन्ट्स जित निकाल्न बन्चित भएको थियो। भीएआरको सहायतामा रोनाल्डोको गोल अफसाइड देखिएको थियो।
यससँगै युभेन्ट्सले बराबरीबाट सिजनको सुरुवात गरेको छ। युभेन्ट्सले पहिलो खेलमा १ अंक जोडेको छ। युडिनेजीले पनि पहिलो खेलमा १ अंक जोडेको छ।


























