भदौ ३ । फुटबलमा कुनै उपाधि जितिन्छ अथवा बढुवा खाइन्छ भने त्यसको खुसीयाली मनाउने गरिन्छ, ‘ओपन टप’ बसको परेडमा। तर भेनेजियाले इटालीको सिरी ए मा उक्लेको खुसीयाली डुंगामा मनायो। भेनस सहर पानीमा बसेको छ र यो आफ्नो इतिहास तथा कलाकृतिका लागि बढी चिनिन्छ।
भेनसको सम्बन्ध फुटबलसँग कमै छ। तर यसमा पनि परिवर्तन हुँदैछ। पछिल्ला १० वर्षमा तीन पल्ट टाट पल्टिएको घोषणा भएको भेनेजिया भेनसको त्यस्तो फुटबल क्लब हो, जसले भर्खरै मात्र इटालीको माथिल्लो डिभिजनमा प्रवेश पाएको छ। प्ले अफको माध्यमबाट १९ वर्षपछि यो क्लब सिरी ए मा पुगेको हो।
क्लबको इतिहासनै धेरै उतारचढावपूर्ण रहेको छ। अहिले सायद यसबारे धेरै चर्चा गर्ने समय पनि होइन, बरू समय हो त यसले माथिल्लो डिभिजनमा उक्लेपछि भेनसमा छाएको खुसीयाली नियाल्ने। प्ले अफमा भेनेजियाले क्याटाडेलालाई हराएको थियो। त्यसपछि त घर घरसँग टाँसिएर रहेका नदीमा डुंगाको परेड नै निस्केको हो।
खेलाडी पनि यस्तै डुंगामा सवार थिए। सन् १९४१ मा कोपा इटालिया समेत जितेको यो क्लब सन् २००२ मा सिरी ए बाट रेलिगेसनमा परेको थियो। अनुकुल अवस्था रहे भेनस सहरले प्रत्येक वर्ष दुई करोड ५० लाख पयर्टकलाई आकर्षित गर्ने गर्छ। अब यही सहरमा इटालीको माथिल्लो डिभिजनको फुटबल पनि फर्केको छ। बीबीसीको सहयोगमा।


























