काठमाडौं, साउन १९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। आज विहान सामाजिक सन्जाल फेसबुकमार्फत खड्काले सन्यासको घोषणा गरेका हुन्।
डेढ दशकदेखि राष्ट्रिय टोलीबाट खेलिरहेका पारसले १० वर्षसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए। सन् २००९ देखि कप्तानको भूमिकामा रहेका उनले २ वर्षअघि कप्तानबाट राजीनामा दिएका थिए।
१९ वर्ष व्यावसायिक क्रिकेट खेलेका खण्डाले कप्तानबाट राजीनामा दिएको २ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि बिदा लिने घोषणा गरेका छन्। उनले २०७६ असोज २८ मा कप्तानबाट राजीनामा दिएका थिए।
नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी मानिएका खड्काले राष्ट्रिय टोलीलाई पनि सफलता दिलाएका थिए। सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले आफ्नै कप्तानीमा नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि ओडीआई मान्यतासम्म दिलाउन भूमिका खेलेका थिए।
नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनलाई सफल अलराउन्डर मानिन्छन्।


























