काठमाडौं, साउन १६ । जसपाको संसदीय दलको नेता आज चयन हुने भएको छ।
यसका लागि अहिले केहिबेरमा बैठक बस्न लागेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए। बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको नेता चयन गर्नका आज चुनाव गर्ने निर्णय गरेको थियो। यद्यपि सकेसम्म सहमतिका आधारमा नेता छान्ने प्रयास गरिने नेताहरुले बताएका छन्।
मंगलबारदेखि चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्यविभाजन गरेको थियो। जसअनुसार नवराज सुवेदीलाई पार्टीभित्र पर्ने उजुरी छानविन गर्ने समितिको संयोजक बनाइएको छ।
यस्तै नरसिंह चौधरीलाई लक्ष्मणलाल कर्णको ठाउँमा अनुशासन समितिको संयोजक बनाइएको छ। कर्ण महन्थ ठाकुर पक्षमा लागेपछि उनको ठाउँमा संयोजकको जिम्मेवारी चौधरीलाई दिइएको हो।
जसपाको यसअघि बसेको बैठकले संसदीय दलको विधान पारित गरिसकेको छ। तर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बन्ने नेताहरुको नामावली माग गर्दा पनि जसपाले पठाउन सकेको छैन।
मन्त्री छान्न उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलाई जिम्मा दिइएको छ। केन्द्रीय कार्यकारिणी समितिका एक नेताका अनुसार उपेन्द्र यादवको नेतृत्वमा नै पार्टी सरकारमा सहभागी हुनेछ।


























