काठमाडौं, साउन १५ । विगत केही महिनादेखि ३४ सुत्रीय माग राख्दैँ आएको नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले शुक्रबार (आज) देशभर नै एक दिने अनशन शुरू गरेका छन्।
आफ्ना माग पूरा गराउन चरणबद्ध रुपमा आन्दोलन गरिरहेको महासंघले आज माइतीघर मण्डलासहित देशभरका ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्लामा अनसन शुरु गरेको महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले जानकारी दिए।
काठमाडौँसहित ८३८ स्थानमा शिक्षकहरुले बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म अनशनमा बस्ने सुवेदीले बताए। आगामी शुक्रबार शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा धर्ना कार्यक्रम र त्यसपछि प्रधानमन्त्री निवास अगाडि धर्ना कार्यक्रम रहेको उनले बताए।
महासंघले यसरी गत वैशाख २० गतेदेखि चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु गर्दै आएको छ।
विगतका दिनहरुमा नेपाल सरकारले महासंघसँग गरेका सहमति कार्यान्वयन गर्नुपर्ने, प्रारम्भिक बाल विकास शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिनुपर्ने लगायत विभिन्न मागहरु राख्दै आएको छ।


























