चितवन, साउन १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा नमुना परीक्षण गर्दा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट ‘कप्पा’ अर्थात् ‘के ४१७ एन’ (ए.वाई१) भेटिएको जनाएको छ।
योसँगै नेपालमा कोरोनाका तीनवटा भेरियन्ट फेला परेका छन्। यसअघि अल्फा र डेल्टा भेरियन्ट फेला परेका थिए।
जेठ मध्यदेखि असार मसान्तसम्ममा विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनामध्येबाट ४७ वटा नमूना परीक्षणका लागि दिल्ली पठाइएको र सबै नमूनामा डेल्टा भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ।
त्यसमध्ये पनि ३ वटा नमूना थप उत्परिवर्तन के ४१७ एन म्यूटेसन भेटिएको छ जसलाई एवाइ १ नाम दिइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
यी सहित नेपालमा भेरियन्ट कन्सर्नका रुपमा अल्फा (बी.१.१.७) र डेल्टा भेरियन्ट (बी.१.६१७.२) तथा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ।
यी सबै भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन्।
विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालय र दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा मन्त्रालयले ती नमूना नयाँदिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जेनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी’मा परीक्षणका लागि पठाएको थियो।
मन्त्रालयले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न/गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न सबैमा अनुरोध गरेको छ।



























