साउन ९ । टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन्। शनिबार भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन्।
१९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भईन्। सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन्। इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रेपेचेजमार्फत फेरि प्रतिस्पर्धा गर्न पाउने छिन्।
सोनिया वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन्। सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी कास्यधारी खेलाडी हुन्। सोनियाले महिला ४८ केजीमुनि कास्य जितेकी थिइन्। उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी हुन्।
इरिना भने रुस ओलम्पिक कमिटिको झण्डामुनि रहेर प्रतिस्पर्धा गरिरहेका छिन्। डोपिङको कारण प्रतिबन्धमा पर्दा रुसले ओलम्पिकमा देशको नाममा सहभागिता जनाएका छैनन्। तर, स्वतन्त्र रुपमा ओलम्पिकको झण्डामुनि बसेर रुसका खेलाडीले ओलम्पिक खेलिरहेका छन्।


























