साउन ९ । सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। टोकियो ओलम्पिक २०२० अन्तर्गत शनिबार छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।
आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन्। उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४.५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। सागमा उनी चौंथो भएकी थिइन्।
राष्ट्रिय कीर्तिमान बनाउने क्रममा कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.०, चौंथोमा १०४.१, पाँचौमा १०३.४ र छैटौं १००.७ अंक जोडिन्।
तर, उनी फाइनल चरणमा भने पुग्न सकिनन्। ५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६ औं स्थानमा रहिन्। छनोटको शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन्। कल्पना वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन्।
त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएकी कल्पनाले ओलम्पिकको छात्रवृत्तिमा ओलम्पिक तयारी गरेकी थिइन्। टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी सहभागी छन्। अब चार खेलाडीको प्रतिस्पर्धा बाँकी रहेको छ।


























