काठमाडौं, साउन ८ । संघीय संसदका दुवै सदनको बैठक शुक्रबार बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक दिउँसो एक बजेका लागि बोलाइएको हो।
संघीय संसद सचिवालयकाअनुसार प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विभिन्न दलका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल सफलताको शुभकामनासहित मन्तव्य राख्ने कार्यसूची छ। गत साउन ३ गते शुरू भएको प्रतिनिधिसभाको आठौँ अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त भएको थियो।
यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुका साथै सरकारले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ।
राष्ट्रिय सभामा समेत पछिल्लो राजनीतिक घटनाक्रमबारे सदस्यहरुले धारणा राख्ने तयारी भएको सचिवालयले जनाएको छ। सरकारले शुक्रबारको बैठकमा राष्ट्रिय मावअधिकार आयोगको वार्षिक प्रतिवेदन टेबल गर्ने कार्यसूची छ।


























