साउन ७ । जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने भएका छन्। प्रतियोगिताका आयोजकहरुले ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने अपेक्षा गरिएको बुधबार जानकारी दिएका छन्।
जापानको मन्त्रिपरिषद्का प्रमुख सचिव कात्सुनोबु कातोले पत्रकारहरुसँग भने, “१५ देश र अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुखहरुसँगै ७० देशका खेलकुद मन्त्रीहरु उद्घाटन समारोहमा सहभागी हुने देखिएको छ।”
शीर्ष नेताहरुको उपस्थीतिलाई आफूहरुले उच्च महत्वका साथ लिएको र त्यसलाई महामारीको विषयमा छलफल गर्ने अवसरको रुपमा समेत उपयोग गरिने उनले जानकारी दिए।
महामारीले विश्वभरी पारेको असर र त्यसको सामनाका लागि अपनाउनुपर्ने उपाय, राम्रा अभ्यास, अनुभव र सहयोग आदान प्रदानका सन्दर्भमा पनि नेताहरुको उपस्थिति उपलब्धिमूलक हुने आयोजकहरुले अपेक्षा गरेका छन्।
अघिल्लो वर्ष नै हुनुपर्ने टोकियो ओलम्पिक–२०२० कोरोनाभाइरसको महामारीका कारण एक वर्ष ढिला गरी अहिले हुन लागेको हो।
प्रतियोगिता यही जुलाई २३ मा सुरु भई आगामी अगस्ट ८ मा सकिने तय भएको छ। प्रतियोगिताका लागि लाखौँ खेलाडी तथा खेल पदाधिकारीहरु अहिले टोकियो पुगिसकेका छन्।
प्रतियोगितामा कोरोनाभाइरस नफैलियोस् भन्ने उद्देश्यले उच्च सतर्कता अपनाइएको अधिकारीहरुले जानकारी दिएका छन्। एजेन्सी


























