साउन ५ । घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीकाले जित निकालेको छ। डुब्लिनमा सोमबार भएको खेलमा दक्षिण अफ्रीकाले आयरल्याण्डलाई ३३ रनले पराजित गरेको हो।
यस जितसँगै तीन खेलको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रीकाले १-० को अग्रता बनाएको छ। दक्षिण अफ्रीकाले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो।
आयरल्याण्डका लागि ह्यारी टेक्टरले ३६ रन बनाए। बेरी म्याककार्थीले अविजित ३० तथा जोस लिटल १५ रनमा अविजित रहे। कप्तान एन्डी बलब्रिनेले २२ रन बनाएर आउट भए।
दक्षिण अफ्रीकाका ताब्रेज सामीले ४ विकेट लिए। लुंगी एनजिडी र जर्ज लिन्डेले २/२ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो।
दक्षिण अफ्रीकाका लागि एडिन मार्क्रमले सर्वाधिक ३९ रन जोडे। डेभिड मिलरले २८ रन जोड्दा रस्सी भान डेरले २५ रन बनाए। क्विन्टन डी कक २० रनमा आउट भए। आयरल्याण्डका मार्क एडिअरले ३ तथा सिमि सिंह र जोस लिटलले २/२ विकेट लिए। एजेन्सी


























