जनकपुरधाम, साउन २ । प्रदेश २ का एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन्। प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका हुन्।
नेकपा माओवादी केन्द्रलाई प्रदेश सरकारमा सहभागी गराउने सहमति भएपछि मार्गप्रशस्त गर्दै जनता समाजवादी पार्टी नेपालको निर्देशनानुसार दुवैजनाले राजीनामा दिएका हुन्।
मन्त्री र राज्यमन्त्री दुवैजनाले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र समेत बुझाइसकेका छन् भने मुख्यमन्त्री राउतले तिनीहरुको विदाई समेत गरिसकेका छन्।
मन्त्री र राज्यमन्त्रीको राजीनामा आइसकेपछि शनिबार दिउँसो ३ बजे माओवादीलाई सो मन्त्रालयको जिम्मेवारी दिने भएको छ। माओवादी केन्द्रबाट मन्त्रीको रुपमा भरत प्रसाद साह र राज्यमन्त्रीको रुपमा रुवी कुमारी कर्ण सामिल हुन लागेकी छन्।


























